एभरेष्ट म्याराथनमा नेपालीकै वर्चस्व

NewsBankNepal News/समाचार , Sports/खेलकुद , २ वर्ष अगाडि

काठमाडाैं । विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकले बाजी मारेका छन । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म (४२ किलोमिटर) हुने खुल्ला फुल म्याराथन तीन घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै नेपालका सुमन कुलुङ प्रथम हुनुभयो । योसहित उहाँ यो प्रतियोगितामा तीन पटक विजेता भइसक्नुभएको छ ।

सोही दूरी तीन घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पार गर्दै नेपालका दलबहादुर कँुवर दोस्रो एवं चार घण्टा दुई मिनेट तीन सेकेन्ड लगाउँदै नेपालकै उमेश राई तृतीय हुनुभयो । ७० किलोमिटरको एक्सट्रिम अल्ट्रा विधामा ८ घण्टा ३८ मिनेट ९ सेकेन्ड लगाउँदै नेपालका तीर्थबहादुर तामाङ पहिलो, नेपालकै तिलकबहादुर सुनुवार ९ घण्टा २ मिनेट ३१ सेकेन्ड लिँदै दोस्रो एवं नेपालकै किरन कुलुङ्ग ९ घण्टा २६ मिनेट ३८ सेकेन्ड लिँदै तेस्रो हुनुभयो ।

एक्काइस किलोमिटरको हुने हाफ म्याराथनमा भारतकी सम्झना राई प्रथम हुनुभएको छ । उहाँले तीन घण्टा १९ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको थियो । अष्ट्रेलियाका एम्मा विलियम्स तीन घण्टा २१ मिनेट ४१ सेकेन्ड लगाउँदै दोस्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेव तीन घण्टा २३ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो हुनुभयो ।

बयालीस किलोमिटरको विदेशी विधातर्फ चार घण्टा ४७ मिनेट १० सेकेन्ड लिँदै अमेरिकाका टेट पोल्म्यान पहिलो, छ घण्टा छ मिनेट ५१ सेकेन्ड लिँदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोस्रो तथा छ घन्टा ३० मिनेट ४३ सेकेन्ड लिँदै चीनका म्यथ्यु विलियम तेस्रो हुनुभयो । बयालीस किलोमिटरकै महिला विधामा नेपालकी मञ्जु रावतले पाँच घण्टा २८ मिनेटमा पार गर्दै पहिलो, नेपालकै लाक्पा मिङ्मा शेर्पा पाँच घण्टा २८ मिनेट ३६ सेकेन्ड लिँदै दोस्रो एवं दिलकला कुलुङ पाँच घण्टा ३१ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भएको कार्यक्रम संयोजक शिशिर पाँडेले बताउनुभयो ।