काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमै प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीविरुद्ध युद्ध अपराध सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको भन्दै राजीनामा माग गरेका हुन् । नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने भन्दै राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्षरुपले अघि बढ्न दिनुपर्ने बताए ।
प्रमुख सचेतक शाहीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाजिर हुन भनेर पर्चा काटिसकेको छ । यो ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ? त्यसैले सम्माननीय प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ ।’
राप्रपाको मागप्रति नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आपत्ति जनाउँदै प्रमुख सचेतक शाहीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।
सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । तर रेकर्ड हटाउनेबारे कुनै पनि धारणा राखेनन् ।