काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छाड्नु पर्ने अवस्था आए पनि भ्रष्टाचारीहरूलाई नछाड्ने बताएका छन् ।
प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति हुने होकी भन्ने जिज्ञाशामा उनले भने, ‘ बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नाङ्गिदै गएको बताए ।
सरकारले राम्रो काम गर्यो भनेर सदनदेखि सडकसम्म अवरुद्ध सृजना गरिरहेको भन्दै उनले सरकारले राम्रो काम गर्दा भ्रष्ट्राचार र सुशासनका देखावटी नारा लगाउने नयाँ दलका मुद्दा पनि छोपिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको दाबी गर्न भने छाडेनन् ।