काठमाडौँ।गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् ।
यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ । यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ ।
यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ । विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो ।
यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ । यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ । यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको उहाँले बताउनुभयो ।
लम्पी स्किन रोग लागेपछि देखिने असर
यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ ।
यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखापर्ने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लङ्गडोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन् ।

