अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट भोजपुर, ताप्लेजुङ, संखुवासभा र पाँचथरमा गरी ५ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् ।
कोशी प्रदेशको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भोजपुरमा १, ताप्लेजुङमा १, संखुवासभामा १ र पाँचथरमा एक जनाको मृत्यु भएको हो ।
संखुवासभाको हेवा खोलामा गए राति आएको बाढीले बगाउँदा पाँचखपन नगरपालिका ९ का सन्तोष राईको मृत्यु भएको हो । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन ९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको थियो ।
सभापोखरी गाउँपालिका ५ र ६ का २ जना बेपत्ता भएका छन् । यस्तै, पाँचखपन ८ दोभानेका १८ जना बेपत्ता छन् । हालसम्म तीन जना घाइते भएका छन् । हालसम्म २१ जना बेपत्ता छन् भने तीन जना घाइते फेला परेर उपचारका लागि अस्पताल लगिएको छ ।
तथ्यांक अनुसार पाँचथरमा आएको बाढी र पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । पहिरोले घर पुर्दा घाइते भएकी पाँचथर फालेलुङ–३ की जुना सावदेनको उपचारको क्रममा निधन भएको छ ।
पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो । बाढीले बगाँउदा ५ जना बेपत्ता छन् ।
ताप्लेजुङबाट बाहिर जिल्ला जाने सडक अवरुद्ध भएकाले लामो तथा छोटो दूरीका यातायात चलेका छैनन् । पाँचथरको हेवाखोलाको पुल र माझीटारको पुल बगाएकोले पाँचथर, इलाम, झापा जाने यातायातका साधन चलेका छैनन् ।
दोभान बजारछेउको सडकसमेत मेवाखोलाले बगाएकोले जिल्लाभित्र पनि यातायात चल्न कठिन भएको छ । यस्तै भोजपुरको टैम्केमयैयु गाउँपालिका ९ मा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।