नेपाल विश्वकप छनोट चरणबाट बाहिरियो

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , १ वर्ष अगाडि

नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा नेदरल्यान्ड्ससँग जित्नै पर्ने खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ७५ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ९० रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर विक्रमजित सिंहसँग मिलेर पहिलो विकेटका लागि ८६ रनको सानदार साझेदारी गरे ।

सिंहले ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रनको योगदान गरे । सिंह सन्दीप लामिछानेको बलमा आउट भएका थिए ।

तेस्रो विकेटका लागि ओ डाउनले बास डि लिडासँग ६८ बलमा ६२ रनको साझेदारी गरे । बास डि लिडाले ३९ बलमा ६ चौकाको सहयोगमा अविजित ४१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिएका थिए ।

त्यसअघि पहिले टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाएका थिए । नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शुन्य रनमा आउट भएका थिए ।

नेपालका कुनै ब्याटरका बीचमा पनि सम्झनलायक साझेदारी हुन सकेन ।
सुपर सिक्समा प्रवेश गरेको नेदरल्यान्ड्सको एकदिवसीय विश्वकपमा छनोटको सम्भावना समेत जिवित रहेको छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।