काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेकाे बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान सँगै लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरणपनि सुरु भएको बताए । यो शुद्धिकरण अभियान यत्तिमा नरोकिई निरन्तर अगाडि बढ्ने समेत उल्लेख गरे ।
मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारवाही सुरु भइसकेको छ उनले भने, ‘बर्षौदेखिको बिकृतिको यो डङ्गुर सफाई गर्ने यो सुशासनको लडाँईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आशा गरेको छु ।’
उनले पछिल्ला हरेक वर्षदेखि किसानले समयमा मल नपाउने समस्या रहेको बताउँदै यो वर्ष साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आयात सुनिश्चित भएको हुँदा अभाव नहुने बताए । यस्तै नेपालमै रायायनिक मल उत्पादन गर्नका लागि लगानी बोर्डले अध्ययन गर्न थालेको बताए ।

