ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो । स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उहाँको भनाइ छ ।

उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । आज कामपा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो ।

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ । उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ ।

यस अवधिमा कामपा नगरप्रहरीको नेतृत्वमा विभिन्न स्थानमा गरी एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ ।