काठमाडाैं । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हाे ।
ललिता निवास जग्गा प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् । सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् ।
यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् ।
तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेका थिए ।
त्यस्तै गुठीमार्फत् नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको अनुसन्धानमा खुलेको छ ।
समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमा लैजान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०६९ का विभिन्न मितिमा निर्णय गरेको थियो ।
सोही क्रममा नक्कली मोही खडा गर्ने गरी भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेश हरि अधिकारीसहितका कर्मचारीले टिप्पणी उठाउनेदेखि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेसम्मका काम गरेका थिए । यही प्रकरणमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्नुपर्ने माग उठिरहेको छ ।
त्यसका लागि डिल्लीबजार मालपोत, समरजंग कम्पनी र गुठी संस्थानका कर्मचारीको मिलेमतोमा भूमाफियाले जग्गा हडप्ने पृष्ठभूमि तयार पारेका थिए ।