विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गर्नुभएका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित हुनुभएको हो । विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहनुभएको थियो ।
अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मनुभएका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उहाँले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव÷सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हाल्नुभयो ।
त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभयो । हरेक चुनावमा नेपाली कांगे्रसको भारी मत बढाउन सफल रहे पनि जितको परिणाम भने हात पर्न सकेन ।
नेपाली कांग्रेसको १३औँ महाधिवेशनपछि नेपाली कांग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यावहारिक राजनीतिक योजनाकार पनि हुनुहुन्छ । पाँच ‘व’ को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपद्मा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए ।

