काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो l उनको आज बिहान साढे ८ बजे निधन भएको हो ।
जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित दाहाल लामो समयदेखि थला परेकी थिइन् । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ ।
दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच, नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएको छ ।
महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनले अपुरणीय क्षति भएको बताएका छन् । दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको पनि उनले उल्लेख गरेका छन् ।

