काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण बढ्न थालेपछि डेङ्गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेङ्गु विरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गरी लामखुट्टेको बासस्थान पत्ता लगाई नष्ट गर्न आग्रह गरिएको छ । यस्तै आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायले आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेङ्गु विरुद्धको अभियान सफल पार्न आग्रह गरिएको छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । गएको पुसयता एक हजार तीन सय ३७ जनामा सङ्क्रमण छ भने एक जनाको निधन भइसकेको छ । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

