आँखा पाक्ने रोगले धनुषाका विद्यालय धमाधम बन्द

NewsBankNepal News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाले पनि एक सूचना जारी गर्दै साउन २२ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यसैगरी अन्य नगर तथा गाउँपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जनकपुरस्थित जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा आशिष बोहोराले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको बताउनुभयो । अस्पतालमा पछिल्लो केही दिनदेखि आँखा रोगका बिरामीको भीड पनि बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक बढीमा दैनिक छ सय ५० जनासम्म उपचार गराउन आउने भए पनि अहिले आठ सयभन्दा बढी आइरहेका छन् ।

आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी सङ्ख्या बढेको डा बोहोराले बताउनुभयो । डा बोहोराले यस साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक एक सय ५० जनासम्म बिरामी आएको बताउनुभयो । गत साता यस्तै समस्या लिएर आउने बिरामी सङ्ख्या ४०/४५ जना मात्रै थियो । जनकपुरसहित अहिले गाउँगाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ ।

सबैभन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको एक गैरसरकारी संस्थामा सामाजिक परिचालक अनिता यादवले सात वर्षीय छोरालाई चार दिनदेखि आँखा पाक्ने रोगले सताएकोमा आजदेखि आफू पनि प्रभावित भएको बताउनुभयो ।