विश्वस्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा आचार्यले दिए उम्मेदवारी

NewsBankNepal Latest Update , News/समाचार , १ वर्ष अगाडि

काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो । दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ । दक्षिण पूर्वी एशियामा नेपाल र बङ्गलादेशसँगै भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र छन् । आचार्य विगत ३० वर्षदेखि विश्वस्वास्थ्य सङ्गठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गर्दै आउनुभएको छ ।

आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ ।

डा आचार्यले आफूले विश्वस्वास्थ्य सङ्गठनमा आबद्ध भई करिब तीन दशकयता विभिन्न जिम्मेवारीलाई कुलशतापूर्वक निर्वाह गरेको तथा आगामी दिनमा पनि क्षेत्रीय निर्देशकका रुपमा काम गर्न अब्बल भएकाले आफूले उम्मेदवारी दिएको बताउनुभयो ।