टीकापुर ।कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ ।
नदी कटान तीव्र भएपछि शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिनुभयो ।
नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ । नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा बिग बोल्डर (ठूला ढुङ्गा)सहितको तटबन्धका लागि ठेक्का दिएको थियो ।
आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नं ५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो । खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो ।

