काठमाडौँ ।नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी हुनुभएको छ ।
आफूले सो कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिनुभयो । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको फिलिपिन्सको बांसामोरो स्वायत्त मुस्लिम प्रदेश हो । यहाँ सन् २०२५ मा तोकिएको निर्वाचनका लागि हाल त्यहाँ समावेशी निर्वाचन प्रणालीको कानुन निर्माण भइरहेको छ ।
सोही कानुन निर्माणमा डा रिजाल सहभागी हुनुभएको हो । सो निर्वाचनमा विभिन्न आठवटा क्लस्टरको प्रतिनिधित्व गराउने गरी कानुन निर्माण गर्ने तयारी रहेको डा रिजालले जानकारी दिनुभयो । “महिला, युवा, उलामा (इस्लाम गुरु), सुल्तान र सुल्तानका प्रतिनिधि गैरमुस्लिम आदिवासी जनजाति, फिलिपिन्सको मूल प्रदेशबाट बसाइँ सरी यहाँ आएका बासिन्दासमेतको सहभागितामा निर्वाचन गराउने र सोहीअनुसार कानुन बनाउनुपर्ने जानकारी उहाँले दिनुभयो ।
सो परामर्शदाता समूहले त्यहाँका स्थानीय बासिन्दा, विभिन्न क्लस्टरका प्रतिनिधि, राजनीतिक नेतृत्व, मुख्यमन्त्री, सभामुखलगायतसँग आवश्यक छलफल र परामर्श गरिरहेको छ । सन् २०२५ मा हुने निर्वाचनमा सबै पक्षको सहभागिता गराउने काम चुनौतीपूर्ण रहेको र सोहीबमोजिमको निर्वाचन प्रणालीको कानुन निर्माणमा यहाँको नेतृत्व सचेत रहेको आफूले पाएको डा रिजालले बताउनुभयो ।