खोप स्वदेशमै उत्पादन गर्ने तयारी
काठमाडाैं । सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने जनाएकाे छ ।
कृषिमन्त्री डा. बेदुराम भुसालले बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।
क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनकाे भनाइ थियाे ।
लम्पीस्किनबाट चैतदेखि हालसम्म ४७ हजार ६४९ पशु मरेकाे तथ्याङ्क सरकारसँग रहेकाे छ । एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको छन् ।
अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको मन्त्री भुसालले जानकारी दिए ।
मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँग समन्वय गरिरहेको जनाएको छ ।