बाल सुधार गृहमा झडप, २२ घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् ।

आज भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँको हात भाचिनुका साथै शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । बन्दीतर्फ चार जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई गोली लागेको छ । गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । बाल सुधार गृहमा रहेका ४३ जना केटी र दुई सय ५६ जना केटा गरी दुई सय ९९ बालबन्दी रहेको सुधार गृहको गेट तोडफोड गरेर दुई सय २१ जना फरार भएका थिए ।

भक्तपुर र काठमाडौँका विभिन्न ठाउँबाट गरी हाल एक सय ९४ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । थप २७ जना टेलिफोन सम्पर्कमा आइसकेको उहाँले जानकारी दनुभयो ।

सम्पर्कमा आएका पनि रातभरिसम्ममा नियन्त्रणमा आउने दाबी गर्नुभयो । बाल सुधार गृहभित्र प्रशासनले विभेद गरेको भन्दै बन्दीले नाराबाजी गर्दै घरेलु हतियार लिएर बाहिर निस्के पनि सुधार गृहभित्र रहेका ४३ जना बालिका बन्दी र केही पुरुष बन्दी भने बाल सुधार गृहभित्रै बसेका उहाँले जानकारी दिनुभयो । बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कदै घरेलु हतियार र ढुङ्गा प्रहार गरी प्रहरीमाथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले तीन राउण्ड गोली चलाउनुपरेको उहाँले जानकारी दिनुभयो ।

गोली लागेर दुई बन्दी घाइते भएका छन् । गेट तोडफोड गरेर बाहिर निस्केको बालबन्दीले सुधार गृहलगायत नजिकैको यूसेप कार्यालयमासमेत तोडफोड गरेका छन् । तोडफोडबाट कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको युसेपका कार्यकारी निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।

सुधार गृहबाट बाहिर निस्कने क्रममा बन्दीले लाठी, भाला, खुकुरी, चक्कुलगायतका घरेलु हतियार लिएर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रजिअ खरेलले जानकारी दिनुभयो । सुधार गृहभित्र औषधि, खाना, पानीलगायत विभिन्न कुरामा दैनिक विभेद हुने गरेको भन्दै बाल बन्दीहरु आक्रोसित बनेको एक बालबन्दीले बताए ।रासस