काठमाडौँ । बर्खाको भेलसँगै शनिबार बिहान वाग्मती नदीमा र्याफ्टिङ गराइएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा ‘नदी महोत्सव तथा महाजलयात्रा’ ( र्याफ्टिङ ) गराइएकाे हाे ।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएकाे जानकारी दिनुभयो । ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु भएकाे महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गराइएकाे थियाे।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।
सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गरेका थिए ।

