अर्थ समितिकाे सभापतिमा निर्वाचित चालिसे काे हुन्?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि


काठमाडाैं । प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसे निर्विराेध निर्वाचित भएका छन् ।

अर्थ समितिको सभापतिमा चालिसेको एकल नामको उम्मेदवारी परेको थियाे। चालिसे काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।

नेकपा एमालेकाे पकड क्षेत्र मानिएकाे काठमाडाैंकाे क्षेत्र नं ३ मा तत्कालिन सांसद कृष्ण राईलाई पराजित गरेपछि उनी पहिलाे पटक संसद छिरेका हुन् । चालिसेले संसद बैठकमा लगातार आफ्नाे क्षेत्रमा भए गरेका र हुनुपर्ने कामका विषयमा सशक्त रूपमा आवाज उठाउने गरेका छन् ।

काठमाडौंकाे आरुबारीमा जन्मिएका चालिसे गाेकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुन् ।स्थानीय तहमा निकै लाेकप्रिय नेताकाे छबी बनाएका चालिसे अहिले राष्ट्रिय राजनीतिमा पनि चुलिँदै गएका छन् । नवनिर्वाचित सभापति चालिसेले निश्पक्ष रुपमा पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापति चयन भएकाे हाे । प्रतिनिधिसभाकाे विभिन्न १० समितिमा सोमबार निर्वाचित सभापतिहरू सिंहदरबारमा आयाेजित शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरेले पद तथा गाेपनीयताकाे शपथ गराउनु भएकाे थियाे । प्रमुख दलबीचकाे बाँडफाँड अनुसार कांग्रेसले चारवटा समितिको सभापति पाएकाे छ ।