जनताको हित हुनेगरी एमसिसी र बीआरआइबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौँ । सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआइलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताउनुभएको छ । ‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । सभामुख घिमिरेले भन्नुभयो– “ठुला राष्ट्रहरुको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।”

नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने ? राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यानदिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताउनुभयो । कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालको आर्थिक विकासमा चीन सधैँ साथमा रहने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा कृषि, उद्योग, प्रविधिलगायत क्षेत्र महत्वपूर्ण रहेकाले यी क्षेत्रको विकासमा चीनको सहयोग सधैँ रहने बताउनुभयो ।