काठमाडौँ महानगरपालिकामा शुक्रबार शोक विदा

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । आज बिहान निधन हुनुभएका काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका वडाध्यक्ष रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको थियो ।

यसअघि स्व रिजालको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौँ महानगरको तर्फबाट राष्ट्रिय सभागृह र पार्टीको तर्फबाट पशुपतिमा राखिएको थियो । राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालको राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने पशुपतिमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको झण्डा ओढाउनुभएको थियो ।

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा उहाँका छोरा सन्देश र सार्थक रिजालले दागबत्ती दिनुभएको छ । उहाँको अन्तिम संस्कारमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरू डा शशांक कोइराला र प्रकाशमान सिंह, नेताहरू शङ्कर भण्डारी, नैनसिंह महर, उर्मिला थपलिया, बागमती प्रदेशका मन्त्री बहादुरसिंह लामालगायत केन्द्रीय र प्रदेशका नेता तथा मन्त्रीको सहभागिता थियो ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षका रुपमा निर्वाचित हुनुभएको थियो । ५३ वर्षीय स्वर्गीय रिजालका बुबा, आमा, श्रीमती र दुई छोरा छन् ।

काठमाडौँ महानगरपालिकामा शुक्रबार शोक विदा

काठमाडौँ महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्षको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का आज बिहान ७.३० बजे उपचारका क्रममा निधन भएपछि महानगरले भोलि शोक बिदा दिएको हो । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले वडाध्यक्षको निधनमा महानगरपालिका र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । महानगरपालिकाले शिक्षण संस्था भने बिदा नहुने जनाएको छ ।