पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडौँ। यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपिभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।

उहाँले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनुभयो । औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ । यही भदौ २७ गतेदेखि देशमा सात प्रदेशका सात अस्पतालबाट १४ वर्ष पुगी १५ वर्ष नपुगेका किशोरीलाई एचपिभी खोप लगाइने छ ।

गत असारमा सरकारले चीनबाट खरिद गरेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी किशोरीलाई लगाउने भनेर २० हजार मात्रा ल्याएको थियो । महाशाखाका निर्देशक डा लालका अनुसार कोशी प्रदेशमा कोशी अस्पतालमा भदौ २८ देखि ३० गतेसम्म, मधेस प्रदेशमा वीरन्गजस्थित नारायणी अस्पतालमा भदौ २९ देखि ३१ गतेसम्म, बागमतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भदौ २७ देखि ३० गतेसम्म, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान भदौ २७ देखि ३० गतेसम्म खोप लगाइने छ ।

यस्तै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा भदौ २७ गतेदेखि ३० गतेसम्म, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेतमा भदौ २७ गतेदेखि ३० गतेसम्म र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा भदौ २७ गतेदेखि २९ गतेसम्म एचपिभी खोप लगाइने छ । यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो । दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने र पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ ।