काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना हुनुभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनुभएको छ । उहाँले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेट्नुभयो ।
मन्त्री बस्नेतले उहाँहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताउनुभयो । “उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताउनुभयो र अस्पतालको सेवासँग सबैजना सन्तुष्ट हुनुहुन्छ”, मन्त्री बस्नतेले भन्नुभयो, “वीर अस्पताल विशिष्ट व्यक्तित्वका लागि मात्र होइन सबै सेवाग्राहीको विश्वास बढेको छ । अहिले सोहीअनुसार चाप बढेको छ ।
मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै सबैको सरल र सहज पहुँचका लागि निरन्तर लागि परेको छ ।” पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । “उहाँको अवस्था स्थिर छ ।
चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ”, उपकुलपति प्रा डा बस्नेतले जानकारी दिनुभयो । खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेङ्गी तथा मुटुको समस्याले अस्पताल भर्ना हुनुभएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।