एमाले सचिवालयकाे आकस्मिक बैठक,पार्टीका सबै कार्यक्रम स्थगित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १२ महिना अगाडि

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।

सबै कार्यक्रम स्थगित

एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यवाहक महासचिव ज्ञवालीले निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको र यो रिक्तता कहिल्यै नपुरिने बताउनुभयो । उहाँका अनुसार उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ९ः०० बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा राखिने भएको छ ।