सरकारसँगकाे ६ बुँदे सहमतिपछि चिकित्सककाे आन्दोलन फिर्ता

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १२ महिना अगाडि

काठमाडाैं । सरकारसँगकाे ६ बुँदे सहमतिपछि चिकित्सककाे आन्दोलन फिर्ता भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच आज आइतवार भएको ६ बुँदे सहमतिसँगै सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गराएपछि स्वास्थ्य मन्त्रालयले वार्ताबाट समस्या हल गरेकाे हाे । आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीको बिचल्ली भएको थियाे ।

हेटौँडामा चिकित्सकमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति भएको छ । सहमतिमा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई ऐनअनुसार कारबाही गर्ने उल्लेख छ ।

यस्तै ऐन कार्यान्वयनका लागि सरकारका सबै निकाय प्रतिबद्ध हुने र तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने सहमति पनि भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षका राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएकाे भन्दै आफन्तले डा विकास थापा र प्रशान्त बिराडीमाथि कुटपिट गरेका थिए ।