यसरी मनाइयो संविधान दिवस(फाेटाेफिचर)

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ ।

यसैक्रममा आज बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले विशेष कार्यक्रमकाे आयोजना गर्याे ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्याे । 

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएकाले समारोहमा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संवैधानिक निकाय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियाे ।

नेपाली सेनाद्वारा सैनिक–मञ्च, टुँडिखेल, काठमाडौंमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने, तोप र बन्दुकको बढाइँ, सबै मठ–मन्दिर, बुद्ध–विहार, मस्जिद, चर्च, गुरुद्वारलगायतका धार्मिक स्थलहरुमा नित्य–पूजा, पाठ गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि जीवन उत्सग गर्ने ज्ञात–अज्ञात शहीदहरुको आत्माको चीरशान्तिको कामनासहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गरिएको छ । 

समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए।  त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रस्तुत गरेका थिए ।

संविधान दिवस मूल समारोह समितिले असोज २, ३ र ४ गते विशेषरूपमा संविधान दिवस मनाउन आह्वान गरे अनुसार देशभर विभिन्न कार्यक्रमका साथ सातै प्रदेश तथा स्थानीय तहमा पनि संविधान दिवस मनाउने क्रम जारी छ । 

आम नागरिकका घर–घरमा र सबै सरकारी, सार्वजनिक, सामुदायिक, सहकारी एवम् सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिक संघ–संस्था एवम् प्राज्ञिक प्रतिष्ठानमा दीप प्रज्ज्वलन गरिने कार्यक्रम पनि छ ।