काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताउनुभएको छ ।
केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताउनुभयो ।
पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उहाँले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।
उहाँले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुनसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गर्नुभयो । रासस