काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एक साता लामो भ्रमणका लागि चीन पुग्नु भएकाे छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रचण्ड चीन जानु भएकाे हाे ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुग्नु भएका प्रचण्ड उतैबाट चीन जानु भएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम् १९ औं एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका थिए।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्रीले हाङ्जाओमा चीनका राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै बेइजिङमा नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ ।
उहाँले सीसीआईटी, एफएनसीसीआई र बेइजिङस्थित नेपाली दूतावासले संयुक्तरुपमा आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड आज हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । उहाँले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको यो भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सहयोगका क्षेत्रलाई विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।