चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री दाहाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ११ महिना अगाडि

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनुभएको छ ।

उहाँले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गर्नुभयो ।

“कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्मसंयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई सम्बोधन गर्नुभएको थियो । सो सम्बोधनपश्चात् सेप्टेम्बर २३ देखि ३० सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी उहाँ यही असोज १३ गते स्वदेश फर्कनुभएको हो । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन भ्रमणमा जानुअघि पनि आफूले सदनलाई जानकारी गराएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

चीनका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफलका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्नेमा आफूले राखेको धारणाप्रति उहाँहरुले पूर्ण समर्थन रहने बताउनुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पु¥याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउनुभयो ।