बझाङमा ६.३ रेक्टरको भूकम्प,दर्जनौँ घर र विद्यालयमा क्षति, घाइतेको उपचार हुँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १२ महिना अगाडि

बझाङ । बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले बझाङ सहित बैतडीको सिगास गाउँपाकिला, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवनमा क्षति पुगेको छ ।

आज दिउँसो २ः४० बजे बझाङको तल्कोट आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल र त्यसपछि आधा समयको फरकमा चैनपुर केन्द्रविन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले बझाङमा धेरै भौतिक संचरना भत्किएको छ । त्यस्तै, घरहरु चर्किएका छन् । भूकम्पको धक्का प्रदेशको पहाडी जिल्लासहित कैलाली, कञ्चनपुरमा समेत महसुस भएको थियो ।

बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताउनुभयो ।

पाण्डेका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ । उहाँले भन्नुभयो, “बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत विवरण आउन बाँकी छ ।” सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ ।

भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।” प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताउनुभयो । डोटीमा पनि केही घर चर्किएका छन् । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पटकपटक परकम्प गएको छ ।

धनगढीमा पनि भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए । धनगढी उपमहानगरपालिकाको स्थानीय आपत्कालीन सञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रले चैनपुर केन्द्रविन्दु भएर छ दशमलव तीन र तलकोट केन्द्रविन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।