काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी हप्ता हुन गइरहेको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका ६ उपाध्यक्ष र १ युवा उपाध्यक्षका उम्मेद्धवारले अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन । यो घोषणा सँगै हालसम्म अध्यक्षमा दाबी गरेका ५ जना मध्धे शर्माको पल्ला भारी हुने देखीएको छ । शर्माको टिमबाट ७ उपाध्यक्षले निर्वाचन लड्ने भएका छन् । आरके शर्मा तथा उनको एजेन्डालाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका मलेसियाबाट हालका सचिव खगेन्द्र न्यौपाने, जापानबाट हालका उपाध्यक्ष रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद रहेका छन । शर्मालाई समर्थन गर्दै सबै क्षेत्रबाट मिलाएर उपाध्यक्षहरु खुलेका छन । उपाध्यक्षमा सबै क्षेत्र र बिचारका उम्मेदवारहरु सहभागी भएका छन ।
बिधान अनुसार एनआरएनएको निर्वाचनमा खुल्लातर्फ ६ उपाध्यक्ष र १ युवा उपाध्यक्ष चुनिने व्यवस्था रहेको छ । शर्माले गत बुधबार कर्मभूमि कतारबाट २४ महिनामा गर्ने २४ बाचा सार्वजनिक गर्दै आफनो उम्मेदवारी घोषणा गरेका थिए । शर्माको बाचामा बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन ।
यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् । श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने, सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैरआवासीय नेपालीमैत्री बनाउन पहल गर्ने शर्माको योजना छ । अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र बैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको भन्दै शर्माले त्यसका लागि विशेष पहल गर्ने बताएका छन् । यस्तुै गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने महत्वकाक्षी योजना पनि शर्माले अघि सारेका छन् ।

‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ । यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ’, शर्माको बाचापत्रमा भनिएको छ । यस्तै सांगठनिक पुनर्संरचना, सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनमा जोड दिएका शर्माले अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकैदिन हुने व्यवस्था मिलाउने पनि बाचा गरेका छन् ।
देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने, नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रबद्र्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने, विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउन पहल गर्ने, दोस्रो–तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई देशसँग जोडिरहन कार्यक्रम ल्याउने, भाषा र संस्कृतिको जगेर्ना गर्न पहल गर्नेलगायतका शर्माले गरेका छन । शर्मा कतारलाई कर्मभूमि बनाएर व्यवसायमा संलग्न छन । उनी एनआरएनएको हालका उपाध्यक्ष समेत हुन ।
एनआरएनएको एघारौ अधिवेसन एकताको महाधिबेसनका रुपमा यही असोज ३० देखी कार्तिक २ सम्म काठमाण्डौमा हुँदैछ । हालसम्म अध्यक्षमा शर्मासहित महेश श्रेष्ठ,बद्री केसी,रविना थापा र विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन । उनिहरु सँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

