एसिया र युरोपका राजनीतिक दलको ४०औं बैठक काठमाडौंमा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौँ । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक यही शुक्रबारदेखि काठमाडौँमा हुँदैछ ।

यही असोज २६ देखि २८ गतेसम्म हुने बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आइक्यापका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो ।

उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहनेछ ।

नेकपा (एमाले) का परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहनुभएका डा भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भएको र सहभागिताका लागि विभिन्न देशबाट अतिथि आउन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौंको गोकर्णमा आयोजना गरिने बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही असोज २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।