भूकम्प प्रभावितको खोजी, उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ११ महिना अगाडि

काठमाडौँ, १८ कात्तिक । सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिनुभयो । जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु रहेको सो भूकम्पमा परी हालसम्म जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ गरी कुल एक सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी तीन सय ७५ जना घाइते भएका छन् । घटनाबाट निजी आवासका साथै सरकारी संरचनामा समेत क्षति पुगेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । सामान्य घाइतेको स्थानीय तथा जिल्ला अस्पताल र गम्भीर घाइतेको काठमाडौँ, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधि एवं राहत सामग्रीसहित प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकनका लागि पुग्नुभएको थियो । सो क्रममा उहाँले पीडित परिवारसँग भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले सरोकारवाला निकायलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायका प्रतिनिधिको बैठकले भूकम्प पीडितको उद्धार र राहतमा प्रभावकारी ढङ्गले खटिइने निर्णय गरेको थियो ।

बैठकले भूकम्प प्रभावितमा खोज, उद्धार तथा घाइतेको उपचार कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने, स्थानीय अस्पतालहरूमा उपचार भइरहेका घाइतेको उपचारलाई प्रभावकारी बनाउन आवश्यक विशेषज्ञ चिकित्सकसहितका जनशक्ति, अत्यावश्यक औषधि उपकरण छिटो साधनद्वारा प्रभावित क्षेत्रमा प¥याउने, थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगन्ज र काठमाडौँमा तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । बैठकले तत्काल राहत व्यस्थापनका लागि खाद्यान्न र अस्थायी आवास (टेण्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि सामग्री प्रभावित जिल्लामा पठाउने एवं खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक केन्द्र तोकी आवश्यकतानुसार साधन स्रोत परिचालन गर्ने निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । खोज तथा उद्धार कार्य र राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने, जाजरकोट र रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच–पाँच करोड तत्काल पठाउने, खोज उद्धार तथा शव व्यवस्थानको विशेष तालिमप्राप्त टोली प्रभावितस्थलमा पठाउने भूकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।