कामपाले छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ११ महिना अगाडि

काठमाडौँ, २२ कात्तिक । काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जानकारी सामाजिक सञ्जालमार्फत दिनुभएको छ ।

“सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी तथा बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ”, प्रमुख शाहले उल्लेख गर्नुभयो ।

उहाँले काञ्जी हाउसमा लगिने चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको, हेरचाहका लागि दुई जना स्थानीयवासीलाई दैनिक ज्यालादारीमा राखिएको र दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो ।