२५ करोड लगानीमा जनकपुरमा खुल्यो बेलाको , गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने सिईओ बासिदको प्रतिबद्धता

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , News/समाचार , ११ महिना अगाडि


जनकपुर,१६ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष अब्दुल बासिदले बेलाको नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा आफ्नो गृहनगर जनकपुरमा विस्तार गरेका छन् ।

कतार र बेलायतमा स्थापित बनिसकेको ब्राण्ड बेलाले नेपालमा पनि आक्रामक बजार विस्तारको योजना बनाइरहेको समयमा जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमको उद्घाटन गरिएको हो । यो काठमाडौँपछिको दोस्रो डिस्ट्रिब्यूसन सेन्टर भएको बताइएको छ ।

डिस्ट्रिब्युसन सेन्टरको उदघाटन कांग्रेसका नेता एबं सांसद विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं एनआरएनएका युवा उपाध्यक्ष अब्दुल बासिदले जानकारी दिए ।

होम अप्लायन्सले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेशका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको बताए । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, आफ्नै जन्मभुमी र मधेशका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’

सिईओ बासिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रडक्ट भएको दावी गरे । ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन । सही सामग्री खरिद गरेकोमा उहाँहरुलाई गौरवानुभूति हुने छ,’ उनले भने ।

जनकपुरमा पाइला चाल्दा आफूहरु विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उनले बताए । आफू सानो उमेरमै बैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेर र आफ्नो पौरखले व्यापारमा हात हालेको भन्दै अहिले विदेशमा सिकेको सिप, ज्ञान र अनुभव देशमा पनि लगाएको उनको भनाइ छ ।

देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो स्वरुप स्थापना गर्न सफल भएको बताए । उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रमोसनमा मात्रै नेपाल आएको नभई युवाहरुलाई हौसला दिन पनि आएको बताए । नेपालमा लगानीको वातावरण नभएपनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ ।

उनले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको धारणा समेत राखे ।

यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको धारणा राखे । नेपालमा ढुंगामुढा गर्ने राजनीतिक दलले भन्दा विदेशमा भाँडा माझ्ने गैरआवासीय नेपालीलाई देशका माया हुने पनि उनले धारणा राखे । सो क्रममा अब्दुल वासिदको नेपालमा लगानी आम युवाहरुलाई एक शिक्षा भएको धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । उनले बासिदले गरेको लगानी नेपालमा उदाहरणीय भएको धारणा राख्दै नेपालमा रोजगारीको सिर्जना गर्दै आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए ।

बेलाको ब्रान्डका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए । उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । बासिदले नेपालमा करिब २५ करोडको लगानी बेलाकोमा गरेको बताइएको छ । उनको कम्पनीमा स्वदेश तथा विदेशमा करिब ४५० कार्यरत रहेका छन ।

बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत र कतारमा निकै लोकप्रिय छन् । दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरु उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत वसिदले बताए । बेलाकोले नयाँ टेक्नोलोजी प्रयोग गरेर उपकरणहरु निर्माण गर्छ । यसले आम मानिसको दैनिकीलाई सहज बनाउन सघाएको छ । विदेशमा बनाएर घरघरमा पुर्याउँदै आएको बेलाको ब्राण्डका उपकरणहरु नेपालमै उत्पादन गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयोगका सामग्री उत्पादन गर्दै आएको छ । बेलाको ब्राण्ड प्रवर्धनका लागि ब्राण्ड एम्बसडरमा प्रदीप खड्का रहेका छन् । सो कार्यक्रममा खड्काको पनि उपस्थिति रहेको थियो भने आफू स्तरीय ब्राण्डमा जोडिन पाउँदा गौरवान्वित भएको उनले बताए ।

बेलाको ब्राण्डले आफ्नो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाएको छ । कम्पनीले आफ्ना उत्पादन ग्राहकको प्रमुख रोजाई बन्दै गइरहेको दाबी गरेको छ। कार्यक्रममा बेलाका अध्यक्ष हाजी मोहम्मद इजरायलसहित विभिन्न राजनितीक दलका प्रतिनिधि,सांसदहरु,स्थानीय प्रतिनीधिहरु, जनप्रतिनिधि र स्थानीय अगुवालगायतको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is d2-1024x768.jpg