काठमाण्डौ, २० मँसिर – रसियाको सेनामा नेपाली युवा पठाउने गिरोहका केही लाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाण्डौका विभिन्न ठाउँमा गतहप्ता देखि चलाएको अप्रेशनका क्रममा नेपाल र भारतको बाटो हुँदै रसिया पठाउने १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रबक्ता एवँ प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले रसियाको सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिने देखि भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।
पछिल्लो समय रसिया–युक्रेन युद्धपछि रसियाले विदेशीका लागि भर्ती खोल्दा नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ पुगीरहेका छन् । यसरी अवैधरूपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यानसमेत गुमाएको पुष्टि भैसकेको छ । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसअघी नेपाल सरकारले रसिया जानका लागि नेपालीलाई कडाइ गरिसकेको छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ती नगर्न र भर्ती भएका युवालाई समेत फिर्ता पठाउन रुसलाई कूटनीतिक नोट पठाइसकेको छ । सरकारले यसअघि साउन १६ मै नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना सम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौता (भारत र बेलायत) बाहेक अन्य विदेशी मुलुकमा कुनै स्पष्ट नीति नभएको उल्लेख गरेको थियो । तर, नेपालमा रहेका गिरोहले रसिया सेनामा बढी पैसा कमाउने भन्दै युवालाई रसिया पुर्याउने गरेका छन् ।