काठमाडौं, २५ मँसिर । प्रवासी श्रमिक र तिनिहरुका परिवारलाई मद्धत गर्ने उद्धेश्यले तयार पारिएको परदेश डट ओआरजी डट एनपी pardesi.org.np को औपचारिक सुरुवात भएको छ । उक्त वेबसाइटलाई हिजो ललितपुरमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगारबाट फर्केर आएका हेममाया राना मगर, श्याम लामा र संगिता थापाले प्रमुख अतिथिका रुपमा क्लीक गरि औपचारिक शुभारम्भ गरेका थिए । सो अवसरमा प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्वन्धि तालिम सामग्री पनि सार्वजनिक गरिएको थियो ।
रोजगारीक लागि विदेश जानेहरुले वैदेशिक रोजगारको प्रकृयाका बारेमा बुझ्न, गन्तव्य मुलुकको बारेमा जानकारी, रोजगारीका लागि जान चाहनेहरुलाई उपयुक्त सीप सिकाउने संस्थाहरुको बारेमा जानकारीको अभाव जस्ता समस्या भोग्दै आएका छन् । यसैगरी वैदेशिक रोजगारसँग सम्वन्धित अरु विषयहरु जस्तै, वित्तिय साक्षरता, विप्रेषणको सदुपयोग, कल्याणकारी व्यवस्था, गन्तव्य मुलुकमा स्वास्थ्य सम्वन्धि सुविधा, गन्तव्य मुलुकको हावापानी, संस्कृति, खानपान लगायतका विषयहरुमा पनि रोजगारीका लागि प्रवास जानेहरुमा अनभिज्ञता रहेको देखिन्छ । यसले रोजगारीका लागि प्रवास जानेहरुलाई थप चुनौति सिर्जना गर्ने गरेको छ ।
रोजगारीका लागि जान चाहनेहरुलाई सुसूचित बनाउने प्रयास नभएको होइन । सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरु, ट्रेड यूनियनहरु तथा सञ्चार माध्यमहरुले यस्ता विषयमा जानकारी दिने प्रयास गरिरहेका छन् । तर त्यसरी तयार पारिएका जानकारीहरु एकैथलोमा उपलव्ध छैनन् । यहि अभावलाई मध्यनजर गर्दै नेपालको नागरिक समाज, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत संघसंस्था तथा व्यक्तिहरु, सुचना प्रविधिका जानकारहरु लगायतसँग धेरै चरणको छलफल पश्चात परदेशी डट ओआरजी डट एनपीको अवधारणा तयार पारिएको हो । यसले सवै संस्थाहरुले उत्पादन गरेका जानकारीमूलक विषयहरु एउटै माध्यममा उपलव्ध गराउने प्रयास गरेको छ । यसबाट सुचनाको खोजिमा रहेकाहरु लाभान्वित हुनेछन् ।
यसैगरी प्रविधि आधारित विषयको ज्ञानको अभावका कारण प्रविधिको सही प्रयोग गर्न नसक्दा पनि प्रवासी श्रमिकहरु ठगिमा पर्ने वा समस्यामा पर्ने गरेका छन् । यो अभावलाई मध्यनजर गर्दै तालिम सामग्रीहरु तयार पारिएको छ जुन नेपालीका साथै मैथिली, भोजपुरी, थारु, तामाङ तथा नेपाल भाषा(नेवारी) मा उपलव्ध छन् । त्यसले प्रवासी श्रमिक र तिनका परिवारलाई मोवाइल तथा अरु माध्यमहरुको प्रयोग कसरी गर्ने लगायतका जानकारीहरु समेटेको छ । pardesi.org.np तथा तालिम सामग्री तयार पार्न सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, पौरखी, आमकास नेपाल, प्रवासी नेपाली समन्वय समिति, देशपरदेश डटकम तथा प्रविधिको क्षेत्रमा कार्यरत संस्था औराएड र एनआइसी संलग्न छन् । यसलाई तयार पार्ने क्रममा नाइसर, सामी हेल्भेटास, युनेष्को काठमाडौं कार्यालय, जिएसएमए, आइएमई, हाम्रो पात्रो लगायतको सहयोग प्राप्त भएको थियो । यसमा रोयल होलोवे, युनिभर्सिर्टी अफ लण्डनका तर्फबाट प्रो. जि हरिन्द्रनाथ (हरी), प्रो. टीम उनविन तथा डा. मरिया रोजा लोरिनी लगायत संलग्न थिए ।
वेबसाइट सार्वजनिक गर्न आयोजित समारोहमा प्रमुख आतिथ्यता गरेका वैदेशिक रोजगारबाट फर्केका तीनजना श्रमिकहरु, पौरखीकी मञ्जु गुरुङ, आमकाश नेपालकी विजया राई श्रेष्ठ, मेडेककी सल्लाहकार डा. मिना पौडेल, सुरक्षित आप्रवासनका लागि राष्ट्रय सञ्जालका उपाध्यक्ष कृष्ण न्यौपाने, पिएनसीसीका निवर्तमान अध्यक्ष कुलप्रसाद कार्की, रोयल होलोवे, युनिभर्सिर्टी अफ लण्डनका तर्फबाट प्रो. जि हरिन्द्रनाथ (हरी), प्रो. टीम उनविन, एनएनएसएमका स्वर्ण कुमार झा तथा राष्ट्रिय आबिश्कार केन्द्रका सँस्थापक महाबिर पुन लगायतले मन्तव्य राखेका थिए ।