काठमाडौँ, २७ पुस । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।
करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताउनुभयो ।
उहाँका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणासमेत गर्नुभएको थियो ।