स्वेदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद- अभिनेता शाह

NewsBankNepal Entertainment/मनोरञ्जन , News/समाचार , ११ महिना अगाडि

काठमाडौँ, ३ माघ । चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताउनुभएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्बन्धित निकायले प्रदर्शनमा सहजता नदिलाए विस्तारै निर्माताको मनोबल घट्ने बताउनुभयो ।

उहाँले नेपालको ३३ जिल्लामा चलचित्र भवन नरहेको बताउँदै भएका भवनमासमेत नेपाली चलचित्र प्राथमिकतामा नपर्नु दुःखद रहेको बताउनुभयो । बजारका दृष्टिकोणबाट पनि चलचित्र उद्योगलाई निकै सङ्कुचित ढङ्गले खुम्चाएर राखेको अवस्था रहेको अभिनेता तथा निर्देशक शाहको भनाइ थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले चाहेर पनि सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै नीति बनेपछि समस्या समाधान हुने बताउनुभयो । अध्यक्ष केसीले प्रस्तावित चलचित्र नीति चलचित्रसँग सम्बन्धित संस्थासँग छलफल गरेर छिट्टै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गर्ने बताउनुभयो ।

नेपालमा स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको र चलचित्र भवनले सो सङ्ख्यामा भेद्भाव गरेको भन्दै बेलाबखतमा आन्दोलन भए पनि त्यसले उचित नतिजा दिन सकेको छैन ।