काठमाडाैं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ। कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हाे।
१९ सिटका लागि बिहीबार मतदान भएको हो। जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट, नेकपा (एकीकृत समाजवादी) ले दुई सिट र जनता समाजवादी पार्टीले एक सिट जितेको छ
राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी भए।
मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए।
त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित भए।
यसैगरी, लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए। यस्तै, कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए ।
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित भए।