काठमाडौं, २४ फाल्गुन । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले पटक–पटक दलहरुलाई धोका दिएको बताउनु भएको छ । पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग गठबन्धन गर्दा पनि प्रचण्डले धोका दिएको बताउनु भएको हो ।
लेखकले प्रधानमन्त्री प्रचण्डबाट ‘धोका’ पाएका दलहरु एक ठाउँमा उभिनसक्ने संकेत गर्दै यदि त्यसो भयो भने प्रचण्ड कहाँ पुग्लान् भनेर पनि प्रश्न गर्नु भएको छ ।
गठबन्धन फेरिरहने र आफू प्रधानमन्त्री पदमा रहिरहने कुरा उथलपुथल होइन भन्दै सचेतक लेखकले संसदमा प्रचण्डलाई व्यंग्य गर्दै भन्नु भयो एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल होइन र यो शोभनीय पनि हुँदैन ।
नेपाली कांग्रेस प्रमुख सचेतक लेखकले आफ्नो पार्टी संविधानमा भएको व्यवस्था अनुसार धर्मनिरपेक्षतामा अडिग रहेको बताउँदै एमालेका दस्तावेजहरुमा पनि माओवादीविरुद्ध लेखिएको भन्दै उनले ती दस्तावेजका अंश वाचन गरेर पनि सुनाउनु भएको थियो । एमालेको एउटा दस्तावेजमा ‘गएका ६ वर्षमा हामीमाथि पटक–पटक धोका भएको छ’ भन्ने शव्दावली सुनाउँदै लेखकले प्रश्न गर्नुभयो , यसलाई कसरी लिनु भएको हो र अझ कसरी लिनु हुन्छ’
माओवादीले धोका दिन बाँकी कुनै पार्टी नरहेको निष्कर्षमा आफू पुगेको भन्दै सचेतक लेखकले धोका पाएकाहरु सबै एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नु होला भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न पनि गर्नु भयो । ‘म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुहोला ?’