जसपा नेपाल पुनः विभाजित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ महिना अगाडि

काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपाल पुनः विभाजित भएको छ। वरिष्ठ नेता अशोक राईले आइतबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएसँगै सो पार्टी विभाजन भएको स्पष्ट भएको छ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्ताव गरिएको छ।राईले बहुमत सांसदसहित जसपा नेपाल फुटाएको दाबी गरेका छन्।हाल संघीय संसद्मा जनता समाजवादी पार्टी नेपालका १२ सांसद छन्।

अध्यक्ष यादवले प्रचण्ड नेतृत्वको सरकार ढाल्न कसरत गरिरहेको दाबी गर्दै सरकार जोगाउन पार्टी फुटाइएको असन्तुष्ट नेताहरूले बताएका छन्।तर,राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई समर्थन दिने भएको छ।

नयाँ दलमा राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत छन्। यादवको कार्यशैलीका कारण पार्टी फुटेको राई पक्षका नेता प्रदीप यादवको भनाइ छ।डेढ दशकदेखि यादव लगातार पार्टीको अध्यक्ष रहँदै आएका छन्।

यसैबीच, जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले उपेन्द्र यादव नेतृत्वको पार्टी नफुटेको दाबी गर्दै पार्टीका १० जना साथी छुटिएर अन्त गएको बताएका छन् । ९ वर्षअघि २०७२ जेठ ३२ गते यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकता भएको थियो।