काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । सहकारी ठगीका विषयमा लगातार रूपमा समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका सिरोहिया ९ दिनपछि रिहा भएका हुन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको जानकारी दिए ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।
जेठ ८ मा पक्राउ परेका सिरोहियाकाे मुटुमा समस्या भएका कारण हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।