गृहमन्त्री लामिछानेको समेत नाम जोडिएका सहकारीबाट कागजात झिकाउन माग

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं ।सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले विभिन्न नौ वटा सहकारीबाट कागजात झिकाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएका सहकारीबाट कागजात माग गरिएको हो । समितिले सम्बद्ध सहकारीबाट गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमका सम्बन्धमा पनि कागजात माग गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो । 

सभापति थापाले भन्नुभयो, “समितिलाई कार्यादेशमा दिइएको अनुसूची २ का सहकारीका कागजात माग गर्ने निर्णय भएको छ । विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमका सम्बन्धमा पनि कागजात माग गर्ने निर्णय भएको छ ।” 

निर्णय अनुसार समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, साहरा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारीबाट कागजात माग गरेको हो । यस्तै सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको पनि समितिले कागजात माग गरेको हो । 

समितिले सहकारीहरूको वार्षिक साधारण सभाको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा सञ्चालकको विवरण पनि माग गरेको छ । समितिले सम्पूर्ण विवरण प्राप्त भएपछि अर्को चरणको अनुसन्धान प्रारम्भ गर्ने छ । 

कागजात मागिएकामध्ये पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा अनधिकृत रूपमा कानुनविपरीत रकम प्रवाह भएको र रकम गएका संस्थामा बहालवाला गृहमन्त्री लामिछाने सञ्चालक रहेको आरोप लागेपछि छानबिनका लागि संसदीय समिति बनाइएको थियो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लामो समय संसद् अवरुद्ध गरेपछि जेठ १५ गते समिति गठन भएको थियो । सभाभार गाेरखापत्र अनलाइन