कांग्रेस-एमालेको गठबन्धनमा नयाँ सरकार बन्दै,सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडौं। संसदका दुई ठूला दल कांग्रेस र एमालेले मिलेर सत्ता सहयात्रा गर्ने सहमति गरेका छन्।दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका हुन् ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको बुझिएको छ ।
जसअनुसार ओली दुई वर्ष प्रधानमन्त्री र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने छन् ।‘सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ ।
राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारी भएको छ ।

यसैबीच,एमालेले मध्यरातमै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ।

सात बुँदे समझदारीमा हस्ताक्षर भएसँगै एमालेले राति नै राष्ट्रपति कार्यालय, शितलनिवासमा समर्थन फिर्ताको पत्र दर्ता गराएको हो ।समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंखर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित नेताहरु शितल निवास पुगेको स्रोतको दाबी छ।