केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा  (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । चौथो कार्यकालका लागि उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रनिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभएको हो । 

प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाए लगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो ।
असार २८ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीको पद तथा गोपनीयताको शपथ भाेलि बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार नै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । कांग्रेस र एमालेले आफ्नो दलबाट मन्त्रीमा पठाउनेको नाम टुङ्गो लगाएको दलका नेताले बताएका छन् ।

वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको आठराई इवा गाउँको एक किसान परिवारमा जन्मनु भएका ओली पटक–पटक गरी १४ वर्षसम्म जेल बस्नुभएको छ ।