बस खाेज्न ल्याएकाे चुम्बक नै हरायाे
काठमाडौँ ।सिमलताल पहिरोमा बगेका बस र यात्रुको शव खोज्न आएको भारतीय प्राविधिकको टोली आइतबार फर्किएको छ ।
चार गोताखोरसहित आएका १२ जना प्राविधिकहरूले अघिल्लो आइतबारदेखि खोजीमा सघाएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालयमा भारतीय प्राविधिकहरूको टोलीलाई बिदाइ गरेका हुन् ।
बेपत्ता यात्रु र बसको खोजीका लागि भारतको एनडीआरएफका प्राविधिकहरू प्रविधिसहित खोजीमा आएका थिए । एक सातासम्म आफ्नो प्रविधि र सीप उपयोग गरेर खोजीमा सहयोग गरेका प्राविधिकहरुले सिमलतालदेखि केराबारीसम्मको दुई ठाउँलाई शंकास्पद क्षेत्र भनेका छन् ।
भारतीय टोलीले पानीभित्र रहेका वस्तुहरूको आकार र आकृति संकेत गर्ने उपकरण सोनारसहित खोजी गरेका थिए । उनीहरूले १९ किलो र १४ किलोका दुईवटा शक्तिशाली चुम्बक प्रयोग गरेर बसको खोजी गरेका थिए । एउटा १९ किलोको चुम्बक नै त्रिशूलीमा बगेर हराएको छ ।
भारतीय टोलीलाई बिदाइ गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी यादवले बेपत्ता बस र शवको खोजीमा अब नेपाली प्राविधिकहरुको टोली मात्रै परिचालन हुने बताए ।
जिल्ला सुरक्षा समितिको बैठकले दोश्रो चरणको खोजी कार्यलाई अघि बढाउने तयारी गरेको छ । असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३(००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३(००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस सिमलतालमा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।