देशका बिभिन्न नदीका जल सतह बढ्दो, सतर्क रहन आग्रह

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , १ महिना अगाडि

काठमाण्डौ, २२ साउन । गएराती देखी परेको अबिरल देशका वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहाव बढेसँगै जोखिम पनि बढेको छ । काठमाण्डौको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम बिज्ञान बिभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदी तटीय क्षेत्र आसपास बस्ने र नदी किनार भई यात्रा गर्नेहरूलाई दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिकामा रहेको खोड्कु खोला झरुवाराशी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । त्यस क्षेत्रमा नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकोले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यसैबीच, आज सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी ९ पूर्व०, नवलपरासी ९ पश्चिम०, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेको छ ।

यस क्षेत्रका मेलम्ची, बाग्मती, बिष्णुमती, धोबि खोला, हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आज र भोलि तमोर, अरूण, तिनाउ, बाग्मती, कमला, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।