सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित,नेताहरूले के भने?

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ महिना अगाडि

काठमाडाैं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो० संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

यससँगै नेताहरूले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने एउटा महत्त्वपूर्ण काम पूरा भएको बताएका छन्।त्यसअघि विधेयकमाथिको छलफलमा सहभागी भएका राजनीतिक दलका शीर्ष नेताले आयोग गठन गरी शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति भएको भन्दै त्यसको कार्यान्वयनमा सरकारले यथेष्ट सहजीकरण गर्ने बताएका छन्।

यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको बताए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रियाको इतिहासमा आजको दिन दूरगामी महत्त्वको दिन भएको जिकिर गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विधेयकलाई आफ्नो पार्टीले सकारात्मक रूपमा लिएको बताए।